Dashain Suvakamana

विपदमा परेर सुदुरपश्चिममा चालिस जनाको मृत्यु

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशमा विपद्का घटनाबाट ४० जनाको ज्यान गएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार साउन १ देखि असार १६ गतेसम्म ४० जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा महिला र पुरुषको सङ्ख्या २०/२० रहेको छ । सो अवधिमा ५७५ वटा विपद्का घटना भएको केन्द्रको बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी २६६ वटा आगलागीका घटना भएका छन् । जसमा चार पुरुष र सात महिला गरी ११ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन् । ४४ आंशिक र ३० पूर्ण गरी ७४ घरमा क्षति भएको छ ।

आगलागीबाट १०५ चौपायासमेत मरेको जनाइएको छ । सर्पदंशका ५३ घटना घटेका छन् । सर्पको टोकाइबाट हालसम्म सात जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाइएको छ । सर्पको टोकाइबाट ११७ चौपायाको पनि ज्यान गएको बुलेटिनमा उल्लेख छ । चट्याङबाट तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको छ । चट्याङ लागेर आठ जना घाइते भएको जनाइएको छ ।

त्यस्तै हावाहुरीबाट चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । बाढीबाट चार जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । जङ्गली जनावरको आतङ्कबाट तीन जनाको मृत्यु र तीन हजार ३७७ घरपरिवार प्रभावित भएको जनाइएको छ । पहिरोबाट तीन तथा भूकम्प र लेक लागेर एक/एक जनाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.