अमरगढी । डडेलधुराका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । यहाँका चार दर्जन सरकारी कार्यालय मध्ये केही कार्यालयबाहेक अधिकांश कार्यालय निमित्तको भरमा चलिरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, नेपाल विद्युत् प्राधिकरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, यातायात व्यवस्था कार्यालय, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, तरकारी बिउ उत्पादन कार्यालय, डडेलधुरा अस्पताल, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार विकास कार्यालय, उच्चशिक्षा परिषद्लगायतका कार्यालय लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् ।
सङ्घीय सरकार मातहतका कार्यालयभन्दा प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा कर्मचारी अभाव बढी रहेको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए । प्रदेशले मनोमानी ढङ्गले कर्मचारी चलाउँदा प्रदेश सरकारसँग सरोकार राख्ने कार्यालयमा बढी जसो निमित्त हाकिम रहेका छन् भने कर्मचारी अभाव पनि तिनै कार्यालयमा बढी देखिन्छ ।
निमित्तका भरमा सञ्चालन हुँदा विभिन्न समस्या झेल्नु परिरहेको गुनासो नागरिकको छ । एक जना लेखापालले दुईभन्दा बढी कार्यालय हेर्ने गरेका छन् । असार मसान्तको बेला योजना फरफारक तथा बिल भुक्तानीका लागि लेखापाललाई भ्याइनभ्याइ छ । सरकारी कार्यालय र स्थानीय तहसमेत हेर्नुपर्दा कतिपयको भुक्तानी समयमा नहुने गरेको जनगुनासो छ ।
विषय विशेषज्ञ रहनुपर्ने कार्यालय पनि निमित्तको भरमा छन् । यसले जिल्लाको समग्र विकास निर्माण र सेवा प्रवाहमा असर परिरहेको राजनीतिज्ञ तथा समाजसेवी गुणाकर चटौतले बताए। दक्ष जनशक्ति नहँदा कार्ययोजनाका साथै जिल्लाको ठोस विकासमा असर परिरहेको उनको भनाइ छ ।