भारतले धौलीगङ्गा बाँध खोल्यो, महाकालीमा जलस्तर बढ्ने खतरा

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिवार खोलेको छ। धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएर शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोल्ने र महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जानकारी दिए। लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी वारपार नगर्न पनि आग्रह गरिएको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो।

धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ। विसं २०७० असार २ र ३ गते धौलीगङ्गाको बाँध एक्कासी खोल्दा दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँको क्षति भएको थियो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.