छाउगोठमा बलात्कृत हुनथालेपछि भत्काउन थालिए

अछाम । पञ्चदेवल विनायक नगरपालिकाकी एक १६ वर्षीया किशोरी मामा नाता पर्नेबाट छाउगोठमै बलात्कृत भइन्। असार ३ गते भएको उक्त घटनापछि जिल्लामा छाउगोठ भत्काउने अभियान पुनः सुरु भएको छ। 

पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले नगरपालिकाभित्रका सबै वडालाई छाउपडी कुप्रथाविरुद्धको अभियान सञ्चालन गर्नका लागि न्यायिक समितिबाट पत्राचार गरिएको बताइन्। चलाउनेले वडाहरूमा फेरि बनेका छाउगोठ कति छन् भनेर संख्या यकिन गरेर भत्काउने र सँगसँगै सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्ने भनेर पत्राचार गरेको बताइन्।

उनले भनिन्, ‘छाउगोठमा निकै अप्रिय घटना घट्यो। यो घटनाले सबैलाई झस्काएको छ। यस्ता कुरीति कुप्रथाका विरुद्ध नीति तथा कार्यक्रममै समेटेका छौं र बजेट विनियोजन गरेर आगामी आर्थिक वर्षदेखि अभियान निरन्तर सञ्चालन गर्ने तयारीका छौं।’

नगरपालिकाको वडा नं ६ बाट गोठ भत्काउने अभियान सञ्चालन गरेको वडाध्यक्ष कमल रावलले जानकारी दिए। वडामा करिब २५/३० छाउगोठ रहेको अनुमान गरिएको र शुक्रबार मात्र १६ वटा छाउगोठ भत्काएको रावलले बताए। शुक्रबार राति छाउ भएर गोठ बस्दै आएकी १५ वर्षकी किशोरीले गोठबाटै भागेर बालविवाह गरेको खबर पाएको उनले बताए।

उनले भने, ‘छाउगोठले धेरै कुरामा असर पारेको छ। छाउ भएर गोठ बस्दै आएकी किशोरीले हिजो बालविवाह गरेको खबर पाए। कमलबजार नगरपालिका-६ वीरपथ बिहे गरेर गएको सुन्नमा आएको छ। प्रहरीलाई खबर गरेको छु। छाउगोठले धेरै समस्या निम्त्याएको छ। कुप्रथाका विरुद्ध जनचेतनामूलक कार्यक्रमहरू निरन्तर चलिरहनुपर्छ।’

पाँच वर्षअघि भत्काइसकेका छाउगोठ फेरि बनेका हुन्। जनप्रतिनिधि, बाल क्लब, बाल सञ्जाल, प्रहरी, गैरसरकारी संघसंस्थाहरूको सहकार्यमा नयाँ बनेका छाउगोठ भत्काउने कार्य सुरु गरिएको छ। अन्नपूर्णबाट 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.