घुम्तीको डिलमा पुगेका भीम रावल कता मोडिन्दैछन् ?

राष्ट्र र राष्टियताको सबालमा खरो उत्रिने नेताको छबी बनाएका भीम रावल पच्छिलो समय न एमालेमा जिम्मेवारी पाए नत पार्टीबाट अलग। साढे दुई वर्षयता जिम्मेवारीविहीन उनी पार्टी नेताहरुले घुम्तीबाट धकेल्न थालेकाले कता मोडिने निक्यौल गर्न सकेका छैनन।

०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीको प्रतिष्पर्धी बन्नु नै उनका लागि भारी पारियो । त्यसको ‘सजाय’ अहिले खेप्दैछन् । त्यसो त, अध्यक्षमा ओलीसँग चुनाव हारेपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरे । त्यसयता रावल पार्टीमा उपर्युुक्त जिम्मेवारीको खोजीमा नै छन् ।

एक महिनाअघि मात्र उनले एक कार्यक्रममा एमालेले आफूलाई निषेध गरेर राजनीतिक जीवनको ‘मोड’मा पुर्‍याएको निष्कर्ष सुनाएका थिए । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई नबोलाइएकामा आक्रोश पोख्दै रावलले आफूलाई पार्टीबाट धकेल्न खोजेको आरोप लगाएका थिए । 

महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा भएको थियो । “उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको मोडमा धकेलिएको जस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो महसुस गरेको छु ,” रावलले भनेका थिए । उनकै शब्दमा, “सामान्य जीवनमा पनि घुम्तीमा पुग्यौं भने त्यो घुम्तीबाट अर्को मोडमा लाग्छ । कतै उहाँहरुले मलाई त्यो घुम्तीमा घचेटेर अर्को मोडमा जाओस् भन्ने दुरासयका साथ यो काम गरिरहेको हो कि ? भन्ने मैले महसुस गरेको छु ।” 

उनले घुम्तीबाट कता जाने भन्ने तय भने गरिसकेका छैनन् ।  घुम्तीबाट कुनै मोडमा जाने निर्क्योल गर्नुभयो ? भन्ने प्रश्नमा उनले भने, “म अछाममा छु । कार्यकर्ता भेटघाटमा नै छु । कुनै निष्कर्षमा पुगिसकेको छैन ।”

उनी पार्टीको कार्यक्रमका लागि अछाम पुगेका छन् । रावलले नयाँ पार्टी खोल्ने वा एकीकृत समाजवादीलगायतका पार्टीमा जाने भन्ने चर्चा हुँदै आएको छ । अब के गर्ने भन्ने कार्यकर्ताको सुझावका आधारमा निर्णय लिन उनी भेटघाटमा निस्किएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला जाने कार्यक्रम तय भएको उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए । त्यसपछि पूर्वको यात्रामा निस्कने तयारीमा रावल छन् ।

आफूले पार्टीमा जिम्मेवारी नपाएको सार्वजनिक अभिव्यक्तिपछि उनलाई जिम्मेवारी दिन एमालेमा कार्यदल नै बनाइएको थियो । ०७९ चैत १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहेको कार्यदल बनाएको थियो ।

कार्यदलले एक चरणको वार्ता गरी दोस्रो चरणको वार्ता अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने निष्कर्ष निकालेको थियो । ०८० साउन ३० गते ओली र रावलबीच पार्टी कार्यालय च्यासलमा दुई घण्टा वार्ता भएको थियो । भेटमा महाधिवेशनमा आफूले उपाध्यक्ष बन्न प्रस्ताव राखे पनि नमानेको भन्दै ओली आक्रोशित भएका थिए । त्यसयता भेटवार्ता हुन सकेको छैन ।

रावलले एकीकृत समाजवादीमा जाने चर्चा बेला–बेलामा हुँदै आएको छ । एकीकृत समाजवादी प्रवेश गर्न नेपालसँग उनले छलफल भने गरिसकेका छन् ।  एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले रावल पार्टीमा आउने विषयमा छलफल भएको बताए ।  “कुराकानी जारी छ । महाधिवेशनको मुखमा छौं । उहाँले आफ्ना साथीहरुसँग छलफल गरेर निर्णय गर्ने भन्नुभएको छ,” उनले भने ।

रावलले अरु पार्टीमा जाने चर्चाका विषयमा प्रश्न गर्दा पनि आफू कार्यकर्तासँग छलफलमा नै रहेको बताए । बाह्रखरीबाट 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.