
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवस आज धनगढीमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइरहेको छ । आज दिवसको अवसरमा धनगढीमा प्रभात फेरी गरिएको छभने यसै अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ओेपचारिक समाराेहकाे आयाेजना गरियाे ।
समाराेहलाई सम्बाेधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताए। सत्रौँ गणतन्त्र दिवस मूल समारोह समितिद्वारा धनगढीमा आयोजित उक्त कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे। ‘गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री सोडारीले भने।
सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो। यसअघि धनगढीको सहिदगेटबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग हुँदै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा पुगेर मूल समारोहमा परिणत भएको थियो। भाेलि जेठ १६ गतेसम्म विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै छ।
दशबर्षे जनयुद्धकाे जगमा स्थापित जननिर्वाचित पहिलाे संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । यसै अवसरमा गाेरखापत्र संस्थानले सुदूरपश्चिमकाे धनगढीमा फाेटाे प्रदर्शनी समेत गरेकाे छ।
