काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको बैठकमा उनकाे विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला र विरोध गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपालगायतले मत दिए भने प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिएको हो । सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।