
धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई अघि सार्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले दल नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको उपनेता प्रकाश रावलले जानकारी दिए ।
यो निर्णयसंगै सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको विकल्प दिन भन्दै एमालेले लिएको अडान निस्कृय भएको छ । एमालेको सोडारीको विकल्प दिनुपर्ने अडान राखेपछि बुधबार समाजवादीले पेश गर्ने भनिएको मुख्यमन्त्रीको दाबीको कार्य रोकिएको थियो । सोडारी विवादास्पद ब्यक्ति भएकाले प्रदेश सरकार अस्थिर नहोस भन्दै एमालेका नेताहरुले उनको विकल्प मागेको बताइन्छ।
उता, नेकपा माओवादी केन्द्रले भने हिजै समाजवादीका दीर्घ सोडारीलाई समर्थन रहेको पत्र पठाई सकेको छ । यसअघि २ बैशाखमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए तर, प्रदेश प्रमुखले नाउपाका दुई जना प्रदेश सभा सदस्यको दाबीका कारण निष्कर्षमा पुग्न नसकेको भन्दै मंगलबार फेरी दुई दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार दाबी पेश गर्न आह्वान गरेका छन् ।
मंगलबार नै एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा समाजवादीले मुख्यमन्त्री दाबी गर्ने सहमति भएपछि नेपाली कांग्रेससहितको नाउपाका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको थियो।
