गोकर्ण दयाल
बैतडी। पाटन नगरपालिकाले सामुदायिक विद्यालयमा वार्षिक २५ करोड रुपियाँ खर्च गर्दै आए पनि नगरस्तरीय परीक्षामा भने ८० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । शैक्षिक सत्र २०८० कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी पाटनका ३५ वटा विद्यालयका ६५२ विद्यार्थीमध्ये १३७ जना मात्रै उत्तीर्ण भए।
सो नगरपालिकाको शिक्षा शाखाले सोमबार प्रकाशित गरेको सूचना अनुसार सात वटा विद्यालयको नतिजा शून्य आएको छ । नौ वटा विद्यालयमा एक/एक जना विद्यार्थी उत्तीर्ण भएका छन् । नगरस्तरीय परीक्षाको नतिजाले सबैलाई झस्काएको नगरपालिकाका उपप्रमुख कमल बोहोराले शिक्षक र अभिभावक दुवैको कमजोरी केलाइरहेको बताइन्। शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा बढी व्यस्त हुने गरेको गुनासो पनि आएको उनले बताइन।
नगरपालिकाले शिक्षामा वार्षिक २५ करोड रुपियाँ खर्च गरिरहेको छ । नतिजा यति कमजोर आएको छ । सरकारी तलब खाने स्थायी शिक्षकले पुगेन भनेर आन्तरिक स्रोतबाट चार करोड खर्च गरेर नगर शिक्षक पनि भर्ना गरिएको छ । पालिका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयका अनुसार नगरस्तरीय परीक्षामा सहभागी सात वटा विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् ।
शिक्षक राजनीतिमा, व्यवस्थापन पदको लोभमा
बैतडी जिल्लाका अधिकांश शिक्षक राजनीतिक दलको सक्रिय सदस्य रहेका छन् । पढाउन छोडेर शिक्षक राजनीतिको पछि लाग्दा शैक्षिक अवस्था कमजोर हुँदै गएको नागरिक समाजका अध्यक्ष गणेश ठकुराठीले बताए ।
यहाँका शिक्षकहरू खुलेआम राजनीतिक दलको कार्यकर्ता भएर कार्यक्रममा, पार्टी कार्यालय र नेताको निवास वरिपरि घुम्ने गर्छन् । पेसागत अधिकारका नाममा शिक्षक नै राजनीतिक दलको झोले बन्दा यस्तो अवस्था आएको डा. केदारचन्द्र भट्टको भनाई छ। विचार बोक्न पाउने अधिकार भए पनि राज्यको तलब भत्ता खाएकाले पार्टीको झन्डा र जिम्मेवार पदमा बस्ने होइन, शिक्षक शिक्षक भएर सेवा गर्ने हो, राज्यले पनि यस्ता शिक्षकलाई कारबाही गर्न सकेको छैन, उनले बताए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिमा पनि चर्को राजनीति हुने गरेको छ । समितिको अध्यक्ष पदका लागि मारामार हुने गरेको नागरिकको गुनासो छ । पद ओगट्न र शिक्षाका लागि छुट्याइएको योजना कुम्ल्याउन मरिहत्ते गर्ने गरेको पाइन्छ ।