सुदूरपश्चिम सरकारबारे अन्तिम निर्णय गर्न नागरिक उन्मुक्ति संसदीय दलको बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको सरकारबारे अन्तिम निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक बस्दै छ । अहिले ११ बजे बस्ने बैठकमा विश्वासको मतका विषयमा छलफल गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। भोलि प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने कार्यक्रम छ।

हुनत  हिजो राती आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर नेता रेशम चौधरीले कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।उनकै निर्देशनअनुसार आज बैठक बस्ने र सोहि निर्णय हुने बताइएको छ। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टी भित्रै तीव्र विवाद जारी छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार सरकार बनाउनु पर्ने जोडमा छिन् भने रेशम चौधरी कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्नेमा छन् ।

यस क्रममा उनले संसदीय दलका नेता सहितका पाँच मन्त्रीलाई तत्काललाई कमल बहादुर शाहको सरकारलाई जोगाउनु पर्ने बताएका हुन् ।नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए ।

हिजो राति चौधरीले उनीहरूलाई कांग्रेस नेतृत्वकै सरकारमा रहन र विश्वासको मत दिन भनेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.