
धनगढी। कैलालीको चुरे पहाडको फेदमा रहेको गोदावरी नदी माथिको पुरानो पुलमा हिजोआज ‘सेल्फी’ खिच्नेको भीड लाग्ने गरेको छ। साथीहरूसँगै सेल्फी लिँदै गरेका कञ्चनपुरका युवा सन्तोष रानाले भने, ‘घुम्न आउनेहरूका लागि यो पुल पहिलो रोजाइमा पर्छ, वनभोजका लागि पनि यो ठाउँको वातावरण पनि रमाइलो छ।’
घुम्नकै लागि पुलमा पुगेका कञ्चनपुर कृष्णपुरकै युवा कपिल भट्ट वरिपरि चुरे पहाड, नदीको सतहदेखि ३०-४० मिटरको उचाइमा रहेको पुलको दृश्य निकै रमाइलो लागेको बताए। उनले भने, ‘घुम्न आउनेहरूका लागि यो पुल पछिल्ला वर्षमा आकर्षणको केन्द्र बन्न थालेको देखिन्छ।’
पुलमा सेल्फी लिने र वरिपरिको प्राकृतिक वातावरणको दृश्यावलोकन गर्नेको दैनिक भीड लाग्ने गर्दछ। अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन धेरै घुइँचो हुने गरेको स्थानीयले बताएका छन्। सडक सञ्जालका दृष्टिमा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा रहेको गोदावरी प्रदेशको मुख्य तीर्थस्थल पनि हो।
काठ, फलाम र स्टिल प्रयोग गरी झण्डै छ दशकअघि बनेको यो पुल जीर्ण भएपछि एक दशकअघिदेखि पुलमा सवारीसाधान आवागमन बन्द गरिएको थियो। धनगढी-डडेलधुरा राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को सडकखण्डमा पर्ने यो पुल जीर्ण भएपछि विकल्पमा सोही ठाउँमा पक्की पुल निर्माण गरिएको छ।
