धनगढीमा सम्पन्न दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिताकाे उपाधि डडेल्धुराकाे आलिताल गाउँपालिकाले जितेकाे छ। शनिबार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको राेमाञ्चक जित निकाल्दै आलितालले उपाधि जितेको हो।
उपाधिसंगै आलितालले २ लाख पुरूस्कार पायाे भने परशुरामले १ लाखमा चित्त बुझायाे। जितका लागि पाएकाे १११ रनकाे लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्यो । जसमा दिलबहादुर बाेहराले ३० र राजु रिजालले २२ रनकाे याेगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे परशुराम १०७ रनमा समेटियाे। उसका यश कठायतले ३२ र मान साउले २१ रन जाेडे। आलितालका हिक्मत महरा र निरज ऐरले ३/३ विकेट झारे। हिक्मत म्यान अफ द फाइनल, आलितालका दिलबहादुर बाेहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी भए।