
चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । डिल्लीबजार मालपोत कार्यालयले शुक्रबार जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको हो । यससँगै तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हुँदै व्यक्तिको नाममा लगिएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा ४२ वर्षपछि सरकारका नाममै फिर्ता आएको छ ।
यस सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । मालपोत ऐन, २०३४ को दफा २४ प्रयोग गरेर मालपोत कार्यालयले जग्गा सरकारका नाममा कायम गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।
‘सरकारी जग्गा व्यक्तिविशेषका नाममा दर्ता भएको भेटिए मालपोत अधिकृतले त्यस्तो दर्ता बदर गर्न सक्ने व्यवस्था मालपोत ऐनमा छ,’ मन्त्रालयका प्रवक्ता भट्टले भने, ‘यसको अधिकार सम्बन्धित मालपोत कार्यालयलाई नै छ । यसैबमोजिम डिल्लीबजार मालपोत कार्यालयले विभिन्न मितिमा व्यक्तिका नाममा पुगेको बाँसबारीको १० रोपनी सरकारी जग्गाफिर्ता ल्याउने निर्णय गरेको छ ।’
