धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह होली लगत्तै विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ । सोही अनुसार उनी गृहकार्यमा जुटेको उनको सचिवालयले बताएको छ ।
केन्द्रमा एमाले र माओवादी सहितका दल मिलेर नयाँ समीकरण बनाएपछि साविकका सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले मुख्यमन्त्री शाहको साथ छाडेका छन् । कांग्रेसबाट प्रतिनिधित्व गर्ने शाह अल्पमतमा रहेकाले यतिबेला आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन् ।
विश्वासको मत कहिले लिने भन्ने जिज्ञासामा मुख्यमन्त्री शाहले भने, ‘हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरुसँग छलफल जारी नै छ । सहमतिको नजिक–नजिक छौँ ।’ फाइनल सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ । होली लगत्तै सत्ताका नयाँ साझेदारसँग ठोस सहमति गरी आफूले विश्वासको मत लिने उनले बताए ।
केही साता अगाडि नागरिक उन्मुक्ति पार्टीका थप सांसदलाई लिएर मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्री शाहले राप्रपाका एकमात्र सांसद खिमादेवी बिष्ट र स्वतन्त्र सांसद तारा जोशीलाई साथमा लिइ मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्दछ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन् ।