धनगढी । संचारीका समुहले सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मीहरुलाई लैङ्गिक समानता र सामाजिक समावेशी विषयमा पत्रकारीता तालिम दिएको छ । संचारिका समुह कैलालीको समन्वयमा यहाँका दुई दर्जनबढी पत्रकारलाई धनगढीमा दुई दिने तालिम दिएको हो ।
तालिमको समापन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेशको कानून, गृहप्रशासनसँगै सञ्चार क्षेत्रको विषयगत आफ्नो मन्त्रालय भएपनि कतिपय अधिकार संघीय सरकारले प्रदेशलाई नदिंदा काम गर्न अफ्ठ्यारो रहेको गुनासो गरे । त्यसैमा आफु मन्त्री भएको छोटो समयमै राजनीतिक हलचल सुरु भएकाले आफुले गर्न खोजेका कामपनि देखिन नसकेको उनको भनाई थियो ।
सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवाको अध्यक्षतामा आयोजित उक्त तालिममा प्रमुख प्रशिक्षक रहेका बरिष्ठ पत्रकार बबिता बस्नेतले सबै विषय बस्तुहरूमा लैङ्गिक समानता र सामाजिक समावेशीको सवाललाई प्राथमिकतामा राख्न सुझाएकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, पूर्वकेन्द्रीय सदस्य मीन बम, प्रदेशका पूर्वअध्यक्ष अर्जुन शाह र जिल्ला अध्यक्ष हिमाल जोशीले लैङ्गिक समानता र सामाजिक समावेशीको सवाललाई प्राथमिकता दिनु पर्ने बताए ।
ज्ञान सीप बढाउन तालिमले भूमिका खेल्ने भएकाले प्रदेश सरकारले सञ्चारमैत्री नीति बनाउन आवश्यक रहेको उनीहरुको जोड थियो । पत्रकार चाँदनी आचार्यले आफूले समाचार लेखेकै भरमा मुद्दा झेलिरहेको भन्दै पत्रकार सुरक्षाको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।