भत्कियो सत्तागठबन्धन : संसद् बैठक स्थगित, आजै मन्त्रिमण्डल पुर्नगठन

काठमाडौं । आजै पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आज साझसम्म नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।

एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ । त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।

आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले गठबन्धन बदल्ने निर्णय गरेको हो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपा पनि समेटिने भएको छ । यता, नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ ।’ 

पछिल्लो राजनीतिक घटनाक्रमले प्रतिनिधिसभाको आजका लागि पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगितका लागि मौखिक जानकारी आएकाले केही समयमा स्थगितबारे सूचना निकाल्ने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.