टीकापुर । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।
अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्। टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउछन् ।
यसबाहेक अस्पतालमा सातामा तीन-चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ । यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ । ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको डा दासले बताए ।टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन् ।
“कहिलेकाहीँ एकै दिन सात वटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ”, उनले भने, “सुत्केरी सेवाका साथै पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा सङ्क्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दैआएका छौँ ।”