
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । यसअघि २ विकेटले हारेको नेपालले आज नेदरल्यान्ड्सलाई ६ विकेटले हराएर ब्याजसहितको बदला लिएको हो।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए । उनलाई गुल्सन झाले ३६ बलमा ३८ रन बनाएर राम्रो साथ दिए । उनले २ चौका र एक छक्का हिर्काए ।
यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।
शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
४ खेलपछि नेपालको ४ अङ्क रहेको छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सको समान ४ अङ्क भए पनि नेट रनरेटको आधारमा पहिलो स्थानमा रहेको छ । नामिबिया ३ खेलबाट २ अङ्कसहित तेस्रो स्थानमा छ ।
