
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु. चार लाखभन्दा बढी मूल्यका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो ।
सयभन्दा बढी कुखुरा घाइते छन् । “बैंकबाट रु. १२ लाख कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भन्नुभयो, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।”
वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।
