
पोखरा । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु भएको हो ।
कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको बताए । सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बाँस्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ । पीडितहरुले १४ संस्थाविरुद्ध पनि जाहेरी दिएका छन् ।
सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग छ । पोखरा महानगरको सहकारी शाखाको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारी ठगी कान्डमा यसअघि नै १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको उल्लेख छ ।
कास्की प्रहरीले तीन पटक फर्काएको जाहेरी सोमबार लिएको हो । अब अनुसन्धान गरी पूरक प्रतिवेदन तयार गर्ने र दोषी पाइएमा सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
