धनगढी । धनगढी उपमहानगरले बजार क्षेत्रका नौवटा वडाहरुबाट सङ्कलन गरिएको फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरिएको छ। गत बैशाखबाट सञ्चालनमा आएको केन्द्रले १३ लाख ५१ हजारको फोहर बिक्रीका लागि तयार पारेको छ।
धनगढी उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले फोहर बिक्रीका लागि बोलपत्र आह्वान गरिएको बताए। उपमहानगरपालिकाले न्यूनतम १३ लाख ५१ हजार ३९५ रुपैयाँको फोहोर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो। उनले भने-‘पहिलोपटक वर्गीकृत फोहरलाई बिक्री गर्न उपमहानगरपालिकाले प्रक्रिया अगाडि बढेको छ।’
धनगढी उपमहानगरले बजार क्षेत्रबाट सङ्कलन भएको फोहर नदी किनार तथा जंगल क्षेत्रमा थुपार्दै आएको थियो। तर, पहिलो पटक सूक्ष्म वर्गीकरण केन्द्रबाट भएको आम्दानीले केन्द्रका कर्मचारी, विद्युत महशुल्क, फोहर सङ्कलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको जोहो गर्ने योजनामा उपमहानगरपालिका छ।
धनगढी बजार क्षेत्रका वडाहरुबाट मात्र दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ। कुहिने फोहोरबाट मल तथा बायो ग्याँस उत्पादन गर्दै गरेकोमा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिँदैछ।