धनगढी । मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा आइतवारदेखि बाह्र राशि दर्शन मकर मेला सुरु भएको छ। १२ दिनसम्म चल्ने मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन्।
प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतीकको रुपमा बाह्र राशि दर्शन मकर मेला आयोजना गरिएको धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताएका छन्। यसका लागि धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिहरुलाई दर्शन गर्न दिइनेछ।
गोदावरीमा स्थापना गरिएको कुम्भवाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको जोशीले बताएका छन्। मकर मेला भर्न सुदूरपश्चिमलगायत सीमावर्ती भारतका विभिन्न ठाउँबाट गोदावरीमा भक्तजन आउने क्रम बढदै गएको छ।
गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला गर्ने लक्ष्यअनुरुप महाकुम्भपछि मकर मेला आयोजना गरिएको आयोजकले जनाएको छ। साथै, अत्तरियाबाट गोदावरी धामसम्म निःशुल्क बसको व्यवस्था गरिएको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताए।