
कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप अन्तगत भलिबल प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा माघ १४ गतेदेखि २० गतेसम्म भलिबल प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा सात ओटै प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा सबै टिमबाट १ सय ५० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० जना निर्णायक स्वयंसेवक रहनेछन्। सबै टिमको यातायात, बास लगायतको सुविधा प्रदेश खेलकुद परिषदले गर्ने गरी ८० लाख बजेट विनियोजन गरेको प्रदेश परिषदका सदस्य दीपक सिंहले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई चार लाख, द्वितीय टिमलाई दुई लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । सान्त्वनाका लागि चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने बताइएको छ।
यस्तै, प्रतियोगितामा सेमिफाइनलदेखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट ६ विधामा १० हजारका दरले पुरस्कार प्रदान गरिने छ।
