मालाको भारी बोकाउने सुदूरपश्चिमेली आन्दोलनका १७ वर्ष

भवानी ऐर

धनगढी । राष्ट्रप्रमुख तथा उच्चपदस्थ नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमेलीको आन्दोलनले १७ वर्ष पार गरेको छ । माग प्राप्तिका लागि बन्द हड्ताल र तोडफोड चलिरहेका बेला २०६३ सालमा पृथक् रूपले आन्दोलनको अगुवाइ कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सवमार्फत सुरु गरेको थियो। निरन्तर चल्दै आएको यो आन्दोलन सभ्य र शालीन मात्रै नभई प्रभावकारीसमेत भएको छ । 

महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै साङ्केतिक माला बोकाउने आन्दोलन सुरु भएको थियो । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजना हुने महोत्सवमार्फत माला लगाएर सुदूरपश्चिमवासीले विकास माग्ने परिपाटी सुरुवात गरेका थिए । यो वर्ष पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आमन्त्रण गरी मालामार्फत जनताका माग सुनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सुदूरपश्चिमेली जनताले लगाइदिएको गह्रौँ माला भिरिसक्नुभएको छ । दोस्रो पटक पनि उहाँलाई उक्त माला लगाइएको हो । त्यसअघि पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र बाबुराम भट्टराई, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा (एमाले) नेता भीम रावल, सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टलगायतलाई गह्रौँ माला पहि¥याइसकिएको छ ।

सुन्दर तथा सम्पन्न सुदूरपश्चिम निर्माणका लागि महोत्सवको पहिलो संस्करणमा २१ बुँदे माग राख्दै तत्कालीन प्रधानमन्त्री देउवालाई २१ किलोग्रामको माला बोकाइएको थियो । उक्त मागमध्ये सेती प्रादेशिक अस्पतालमा आइसियु स्थापना, क्षेत्रीय खेलकुद रङ्गशाला निर्माण, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरेर पाँच वटा मागको सुनुवाइ भइसकेको छ । 

यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्रे तथा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदा आंशिक रूपमा सुनुवाइ भएको वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । 

उहाँले यस पटक प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाउँदै १० बुँदे माग पेस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गौरीफन्टा नाकाको स्तरोन्नति, दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रको प्रवर्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज कार्यक्रम राखिएका छन् ।

त्यस्तै जडीबुटी प्रसोधन केन्द्र, शीत गृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, ब्रह्मदेव सडक, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रसारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रहालयलगायत दसबुँदे माग प्रधानमन्त्री प्रचण्डसँग राखिएका छन् ।

पहिले सुदूरपश्चिमको विकासका लागि केन्द्रलाई ताक्नुपर्ने बाध्यता थियो अब भने सुदूरपश्चिम प्रदेश सरकारसँगै ८८ वटा स्थानीय सरकार छन् । यी तीन तहकै सरकारको चाहना भए सुदूरपश्चिमलाई समृद्धिको मार्ग तय गर्न मुस्किल नहुने तर, त्यसमा निजी क्षेत्रको दबाबस्वरुप मागका बुँदा अनुसार फूलमाला बोकाइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.