धनगढी । सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा अपाङ्गता भएका ब्यक्तिहरुले महोत्सवको आयोजना गर्ने भएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यहि मङ्सिर १७ र १८ गते महोत्सवको आयोजना गर्न लागेको हो।
धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा अपाङ्गता युवा उद्यमशीलता स्वरोजगार मिनी महोत्सव हुने बिहीबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिमले जानकारी दिएको छ। ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सवमा अपाङ्गता भएका व्यक्तिले निर्माण गरेका विभिन्न सामग्री राखिने राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले बताए।
महोत्सव आयोजनाबाट सीप भएका अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिलाउन र आफै स्वरोजगार हुन प्रेरणा मिल्ने अपेक्षा रहेको भन्दै महासघका सचिब नन्दराज भट्टले महोत्सवमा विभिन्न १० वटा स्टल रहने, अपाङ्गगता भएका व्यक्तिहरूको जीवनी राखिने र विभिन्न विद्यालयका अपाङ्गता बालबालिकाद्वारा प्रतिभा प्रदर्शन गरिने बताए । महोत्सवमा अपाङ्गगता भएक व्यक्तिको क्षमता पहिचान गर्ने, उनीहरूका लागि रोजगार प्रबर्द्धन गर्ने र अपाङ्गता भएक व्यक्तिहरूलाई रोजगारी दिने निजी क्षेत्रका विभिन्न संस्थालाई सम्मान गरिनेछ ।
यस्तै, पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकार अपागंमैत्री नभएको गुनासो गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकार अपाङ्ग महासंघ संगको सहमती बिपरित काम गरिरहेको, कानुनले व्यवस्था गरिएका अधिकार समेत अपागंता भएका ब्यक्तीहरुले उपभोग गर्न नपाएको महासंघले जनाएको छ । यस्तो बेलामा प्रदेश सरकार महासंघ संग सहकार्य गरेर काम गर्नुको सट्टा एकलौटी कर्मचारीहरुबाट काम गराइरहेको महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउँदले बताए। उनले भने “सुदुरपश्चिम प्रदेश सरकारका न कुनै संरचना, न कुनै कानुन अपागंमैत्री भए।”
सरकारसंग पटक पटक छलफल गरेपनि त्यसको कुनै उपलब्धी नदेखिएको भन्दै उनले अपाङ्गता भएका ब्यक्तीहरुलाई हेर्ने दृष्टीकोण सरकारले परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सवाल प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को नीति कार्यक्रम र बजेटमा समाबेस गर्न नसकेको हुँदा उक्त सवाललाई लिएर राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल सुदूरपश्चिम प्रदेशको अगुवाइमा अपाङ्गता अधिकार प्रबर्द्धन संघर्ष समितिले अपाङ्गता अधिकार स्थापित गराउन विभिन्न २१ बुदे माग पत्र सहित गत असार १२ गतेदेखि १८ गतेसम्म शान्तिपुर्ण ¥याली, जुलुस, रिले अनसन, सिट्टि फुक्ने, मुख्यमन्त्री गेट अगाडि धर्ना र अनशन, शरीरको कपडा फुकाएर प्रदर्शन विभिन्न बिरोधका कार्यक्रम तय गरेको थियो।
त्यही आन्दोलनका क्रममा असार १८ गते साझ स्वयं माननीय मुख्यमन्त्री प्रदर्शन स्थलमा पुगि माग सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् आन्दोलन स्थगित भइ वार्तामा गएको अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशका सचिव नन्दराज भट्टले बताए। २०८० असार १९ गते पहिलो पटक भएको वार्तामा कुनै टुङ्गोमा नपुगेपछि फेरि २०८० असार २१ गते सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बैठक बसेर ५ बुँदे सहमति भएको थियो।
अपाङ्गता नीति बनाउने, प्रादेशिक निर्देशन समितिको कार्यविधी संशोधन गरी कार्यकारी उपाध्यक्षको व्यवस्था गर्ने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराई बैठक आह्वान गर्ने र अर्थमन्त्रालय अन्तर्गतको सवालहरु अर्थमन्त्रालय अन्तर्गतको सरोकारवाला बोलाइ बैठक गरी निष्कर्षमा पुग्ने निर्णय भएको भए पनि सामाजिक विकास मन्त्रालय र उक्त मन्त्रालयका कर्मचारीहरुले उक्त सहमती कार्यान्वयन गर्न चासो नदिएको हुँदा उक्त सहमति राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिले सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराएको भट्टले बताए।