
धनगढी । विगतदेखि नै एचआभी संक्रमणले सुदूरपश्चिमको समाजमा भयावहको रुप लिइरहेको भएपनि रोथाम तथा न्यूनिकरणमा खासै महत्व दिएको देखिदैन् । प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाका अनुसार गत आर्थिक वर्षमा प्रदेशका सरकारी स्वास्थ्य संस्थाबाट ७ हजार १ सय ३ जनामा परीक्षण गर्दा १ सय ७३ संक्रमित फेला परेका थिए भने विभिन्न संघसंस्थाले गरेका परीक्षणबाट ८१ नयाँ संक्रमित फेला परेका थिए ।
संक्रमितहरुले रोगको संक्रमण निस्तेजपार्न औषधि सेवन गरिरहेका भएपनि मर्नेको संख्यमा कमी आएको छैन । सुदूरपश्चिममा तीन वर्षमा २ सय २६ जना एचआईभी संक्रमितले ज्यान गुमाएका छन् । नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेकाको नै मृत्यु भएको हो । मृत्यु हुनेमा ७२ महिला र १ सय ५४ पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृतकको यो तथ्यांक स्वास्थ्य संस्थाको सम्पर्कमा रहेकाहरूको मात्रै अभिलेख हो । हाल सुदूरपश्चिमका एआरटी केन्द्रमा औषधि सेवन गर्नेको संख्या ३ हजार ६ सय २६ रहेको छ
निर्देशनालयका अनुसार सबैभन्दा बढी औषधि सेवनकर्ता कैलालीमा छन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा १ हजार १९, मालाखेती अस्पतालमा ३ सय ३७, टीकापुर अस्पतालमा ५ सय ६३, अछाममा १ सय ९१, बयालपाटामा २ सय ४, चौरमाडौंमा १ सय ३ र कमलबजारमा ९४ जना एआरटी सेवनकर्ता रहेको तथ्यांकमा उल्लेख छ । यस्तै बाजुरामा ६२, बझाङमा ८९, डडेलधुरामा ६१, जोगबुढा अस्पतालमा ४७, डोटीमा ४ सय ८५, बैतडीमा ९६, दार्चुलामा ४२, मालाखेतीमा ३ सय ३७, दोदोधरामा ७८ र केशरपुरमा २५ जना संक्रमितले एआरटी केन्द्रबाट औषधोपचार सेवा लिइरहेका छन् ।
संक्रमितले प्रत्येक दिन एउटै समयमा एआरटी केन्द्रबाट औषधि सेवन गर्नु अनिवार्य हुन्छ । तर, एकाबिहानै खालि पेटमा औषधि सेवन गर्नुपर्दा कमजोर हुने गरेको संक्रमितहरू बताउँछन् । रोगसँग जुध्नका लागि गरिबी नै प्रमुख बाधक भएको बाजुरा प्लसकी अध्यक्ष विकको भनाइ छ । ‘सरकारले संक्रमितहरूको गास, बास, कपास, रोजगारी, शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिनुपर्छ,’ उनले भनिन्, ‘हामीलाई त जे भयो भयो, हाम्रा बालबच्चाको शिक्षा र भविष्यको चिन्ता छ ।’
राष्ट्रिय एड्स रणनीति, २०१६–२०२१ मा ‘नयाँ संक्रमण संख्या ५० प्रतिशतले घटाउने, बालबालिकामा नयाँ संक्रमण ९० प्रतिशतले कम गराउने, एड्ससँग सम्बन्धित मृत्युदर २५ प्रतिशतले कम गराउने रहेकामा जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने’ उल्लेख छ । तर, सुदूरपश्चिममा संक्रमितको संख्या नघट्नु चुनौतिपूर्ण भएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझा बताउँछन् ।
