धनगढी । आवाज बिहिनको आजाव, सुदूर आवाज अनलाइनमा समाचार आएपछि धनगढी बडहराका दुई एकल महिलाले आफ्नो घर बनाउन थालेका छन् । सुदूर आवाज डट कम मा ‘धनगढी नगरको कर आतंक: एकल महिलाको परिवार महिनौंदेखि त्रिपालमा’
समाचार प्रकाशन भएपछि नगरपालिकाका मान्छेले घर बनाउदै गर्नुस्, कर घटाई दिउँला भनेर खवर गरेपछि रोकेको काम सुरु गरेको ती एकल महिलाका देबर शिसु चौधरीले बताएका छन् ।
यसअघि उनलाई घर नक्सा पास र कर नतिरन्जेल नबनाउन भनेर उपमहानगरले प्रहरी लगाएर रोकेको थियो । धनगढी वडा नम्बर ३ बडहराका शिसु चौधरीका दुई दाईको मृत्युपछि एकल भएका दुइटै भाउजु कहिले अर्काको घरमा भाडा कपडा धुने, खेतीपातीको काम गरिदिने त कहिले लेबरी, मजदूरी गरेर बालबच्चा पालिरहेका थिए ।
दुई वर्षअघि जनता आवास कार्यक्रमले विपन्नका खर वा खाप्टावाला छाना फेर्ने योजनामा ती दुबैको नाम तत्कालिन वडाअध्यक्ष बलवहादुर ऐरले सिफरिस गरेपछि अहिले टीन पाउने भएका छन् । सोही प्रयोजनकालागि यसअघि सगोलमा रहेको खप्टावाला कच्चि घर उखेलेर तीन भाईको अलग अलग छानो बनाउदा धनगढी उपमहानगरले घर नक्सा पास हुनुपर्यो भन्दै बनाउन रोकेको थियो ।
घर नक्सा पास गराउन कन्सलटेन्सीको फीस र उपमहानगरको कर तिर्न नसकेर उनीहरु महिनौदेखि ओडने विछाउने लुगाफाटोकै पाल बनाएर सोही स्थानमा बस्न विवस थिए । अनलाइनमा समाचार प्रकाशनपछि नगरपालिकाका मान्छेले घर बनाउदै गर्नुस्, कर पनि घटाई दिउँला तर, ३० प्रतिशत चाँही तिनुपर्छ भनेर फोन गरेकोले रोकेको काम सुरु गरेको शिसु चौधरीले बताए् ।
पुरानो घर उखेलेर नयाँ बनाउन लाग्दा नगर प्रहरिले रोक्दा बोलि दिएको भन्दै उनी लगायत छिमेकका सबैजसोले अनलाइन सञ्चालक पत्रकार भवानी ऐरलाई धन्यवाद समेत दिएका छन् ।