महिला टी-२० आई सिरिजमा नेपालद्वारा जापान ६७ रनले पराजित

नेपालको घातक बलिङमा हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा पहिलो जित हासिल गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो।

नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो। जापानका लागि मेग ओगावाले बनाएको १७ रन नै सर्वाधिक रह्यो। सेइका सुमीले बनाएको १३ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।जापानलाई कम स्कोरमा रोक्न अस्मिना कर्माचार्य एक्लैले चार विकेट लिइन्। घातक बलिङ गरेकी उनले आफ्नो स्पेलमा मात्र १० रन दिइन्। संगिता राईले ३ विकेट लिइन्। उनले ३ ओभरमा ५ रन खर्चिइन्। पूजा महतोले २ रन आफ्नो नाममा गरिन्। उनले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन दिइन्।

वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो। रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भइन्। नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भइन्। ओपनर पूजा महतो १३ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भइन्। 

कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भइन्। कप्तान इन्दु ३१ बलमा २ चौका हानिन्। काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन्। जापानविरुद्धको खेलबाट तीव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छन्। उनी लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेलिरहेकी थिइन्।

नेपाल र जापान अब तेस्रो स्थानका लागि आइतबार पुनः खेल्नेछन्। समूह चरणको अन्तिम खेलमा जापानलाई हराएको नेपाल २ अंकसहित तेस्रो स्थानमा छ। तीन खेलमा पराजित जापान भने अंकविहीन छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.