धनगढी । भाइटीकादेखि सुरु हुने छठ पर्वकालागि धनगढीको मोहना छठी घाट सिँगारिँदैछ। यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुन्छन्। तराईमा विशेष पर्वका रूपमा मनाइने छठलाई धनगढीमासमेत प्रत्येक वर्ष मनाइने गरिएको छ। पछिल्लो समय धनगढीमा छट मनाउनेको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।
तयारी समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले अहिले घाँटमा सरसफाइ, स्टल राख्ने, मुर्ति तयारी गर्ने, प्रवेशद्वार निर्माण लगायतका काम जारी रहेको बताए । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको मण्डलले बताए। अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ।