तिहारकोलागि फुलमाला बनाउन धनगढीका किसान ब्यस्त

धनगढी । झिलिमिली उज्यालोको पर्व तिहार नजिकिँदै जाँदा व्यावसायिक रुपमा फूल खेती गरिरहेका कैलालीको धनगढीका किसानहरुको व्यस्तता बढेको छ। धान गहुँ लगायतका खाद्यान्न बाली लगाउन छोडेर पहिलो पटक फूलखेतीमा लागेका उनीहरु तिहार आएसंगै बारीमा लटरम फूलेका सयपत्री र मखमली फूल टिप्न र माला बनाउन भ्याई नभ्याई भएका हुन् ।

धनगढी उपमहानगरपालिकाले यस बर्षदेखि प्लाष्टिकजन्य बस्तुमा प्रतिबन्ध लगाएपछि प्लाष्टिक फूलमाला नआउने भएकाले पनि त्यसको बजार स्थानीय फूल उत्पादनले लिन थालेको छ। तिहारमा यस वर्ष फूल अभाव नहुने गरी यहाँका दर्जनौ किसान फुल उत्पादनमा लागेका छन् । धरानमा सयपत्री फूलको कारोबार उच्च“फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने” उपमहानगरपालिकाको योजना अनुसार दुई दर्जन बढी किसानहरु व्यावसायिक रुपमा फूल खेती सुरु गरेका छन्।

यो वर्ष दुई कट्ठामा फूल खेती गरेका धनगढी–१२ जुगेडाका प्रतापसिंह बिष्ट उत्पादन र बजार पाएपछि हौसिएका छन्। उनी अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने योजना बनाएको बताउँदछन् । यस्तै धनगढी–६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन्। धनगढी उपमहानगरपालिकाले दिएको पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन्।

धनगढी–१२ जुगेडा ‘डी’ गाउँकी आशा पन्त मिश्र गत वर्षबाट फूल खेती गर्न थालेकी हुन्। गत वर्ष २० हजारको मखमली र ६० हजारको सयपत्री फूल बिक्री गरेकी मिश्रले यो वर्ष डेढ कट्ठामा कलकत्ते, स्थानीय र कर्मा पाँच सय ५५ जातको सयपत्री फूल लगाएकी छन्। धनगढी–१२ ‘सी’ गाउँ की कृतिका चन्दले पाँच कट्ठामा दुई हजार फूलका बिरुवा लगाएकी छन्। चन्दको यो वर्ष ८ टन फूल उत्पादन गर्ने लक्ष्य छ।

धनगढी–१३ अम्बिका टोलका पुष्करसिंह बिष्टले ११ कट्टा जग्गामा पुष्पखेती गरेका छन्। ६ हजार बिरुवाबाट ६ टन फूल उत्पादन गर्ने लक्ष्य बिष्टको छ। उपमहानगरले गत जेठमा दिएको पुष्पखेती सम्बन्धी तालिम र अहिले उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने बताएपछि अन्य किसान जस्तै पुष्कर पनि उत्पादन भएको फूल बिक्री हुनेमा ढुक्क छन्।

तिहार, विवाह, पुजाआजासहितका कार्यका लागि धनगढीका किसानले फूलको कुनै अभाव नहुने गरी उत्पादन गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.