टिकटक र फेसबुकमा अश्लील सामग्री राखे कारवाही

सरकारले टिकटकलगायत सामाजिक सञ्जालमा अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । त्यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका नियामक निकायले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

जिम्मेवार नागरिकका रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्न‘का साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्न सक्ने भनाइ गृह मन्त्रालयको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.