
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा स्वास्थ्य सामाग्री सहित चिकित्सकको टोली पठाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मिको टोलिलाई सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले निर्देशनात्मक ब्रिफिंग गर्दै मन्त्रालयबाट बिदाई गरेको मन्त्रीका स्वकीय सचिब गोबिन्द साउद सुमनले जानकारी दिए।
कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु बनाएर हिजो शनिवार गएको भूकम्पमा परी घाईते भएकाको उद्दार तथा उपचारमा चिकित्सकको टोली पठाइएको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बतए । तत्काल एक गाडीमा पाँच लाखको औषधी लगायतका स्वास्थ्य उपचार सामाग्री पठाइएको र त्यहाँको अवस्था हेरी आबश्यक सामाग्री थप गर्न सकिने उनको भनाई छ ।
मन्त्री साउदका अनुसार स्वास्थ सामाग्री सहित २० जना स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा पठाइएको हो । यसअघि शनिबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत स्वरूप एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
