धनगढी। सात वर्षदेखि धनगढीमा ठेलामा चाउमिन बेचेर गुजारा गर्दै आएकी डोटी बोगटान फुड्सिल गाँउपालिकाको सिमचौरकी कलसा बोहरा धनगढी उपमहानगरपालिकाले ठेलामा अचाक्ली कर लगाएपछि ठेलाबाट जीवनको गुजारा नहुने निष्कर्षमा पुगेकी छन् । तर अरु बिकल्प र उपाय नहुदा उनी तत्काल ठेला छोड्न सक्ने अवस्थामा भने छैनन ।
कलसाजस्तै ठेलामा चाँउमिन बेचेर गुजारा गरिरहेका सबै महिलाहरुको मनोदशा यतिबेला एउटै छ । धनगढी उपमहानगरपालिकाले ठेलामा चाउमिन बेच्नेहरुसंग वार्षिक ३६ हजार पाँच सय रुपैया कर लिन थालेपछि यो व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका हुन् ।चाउमिन बेचेर घरभाडा, छोराछोरीको विद्यालयको शुल्क जुटाउनु त टाढाको कुरा त्यसले धनगढी उपमहानगरपालिकालाई कर तिर्ने रकम समेत जुट्दैन ।
उनले भनिन ”कहिल्यै आम्दानी नै हुदैन । कहिले तीन सय रुपैया आम्दानी हुन्छ । कहिलेकाही मुस्किलले पाँच/सात सय आम्दानी हुन्छ, उनी भन्छिन्, आम्दानी भए पनि नभएपनि नगरपालिकालाई दैनिक सय रुपैया कर तिर्नै पर्छ । कर नतिरी त चाउमिन बेच्न पनि दिदैनन । पहिले कर तिर्नुपर्छ । अनि चाउमिन बेच्न पाउछु ।”
उनी धनगढी उपमहानगपालिकालाई प्रतिदिन सयका दरले मासिक तीन हजार रुपैया र वार्षिक ३६ हजार पाँच सय रुपैया बुझाउदै आएकी छन् । यसअघि वार्षिक नौ हजार रुपैया बुझाउथिन ।
दैनिक सय बुझाउन नसक्दा तराजु लग्यो
२५ वर्षदेखि धनगढीमा फलफुल व्यापार गर्दै आएका अरसद अलीलाई यति लामो अबधिमा फलफुलको व्यापार गर्दा कहिल्यै अबरोध भएन ।तर केही महिनायता भने उनी व्यापार गर्ने कि नगर्ने दुबिधामा छन् । उनले फलफुलको व्यापार शुरु गर्दा दैनिक दुई रुपैया कर तिर्थे । गत वर्षसम्म यो कर २५ रुपैया थियो । तर यस वर्ष फलफुल कर चार गुणा बृद्धि भयो । र, उनी दैनिक सय रुपैया बुझाउन थाले ।
व्यापार खस्किदै गएपछि उनलाई कर बुझाउन सकस हुन थाल्यो । कर नबुझाएसम्म फलफुल भने बिक्री गर्न नपाउने नियम लागु भयो । त्यतिमात्र होईन, सय रुपैया कर तिर्न नसकेपछि धनगढी उपमहानगरपालिकाका कर संकलकहरुले उनको तराजु र ढक लग्न थाले । र, तराजु फिर्ता लिन थप पाँच सय रुपैया दिनु पर्ने अर्को नियम थपियो ।
एकातिर पैसा नहुदा पाँच दिनसम्म तराजु लिन पाएनन । अर्कोतिर त्यतिका दिनसम्म फलफुल बेच्न पाएनन । उनी भन्छन्, सय रुपैया तिर्न नसकेका कारण मेरा तीन वटा तराजु नगरपालिकामा राखिएका छन् । र, कति पटक त तराजुको जरिवाना शुल्क पाँच सय बुझाए ।
यही समस्यासंग जुझिरहेका छन्, श्रीलाल गुप्ता । भारतको पलिया घर भएका गुप्ता पनि धनगढीमा फलफुलको व्यापार गर्दै आएका छन् । पहिले यस्तो नियम पनि थिएन । यति चर्को कर पनि थिएन, उनी गुनासो गर्दै भन्छन्, अचेल दैनिक कर सय रुपैया तिर्नुपर्छ । त्यो पनि बिहान बोहनी नहुदै । कर बुझाउन नसके तराजु लिएर जान्छन ।

पश्चिम टुडेबाट सम्हार