Dashain Suvakamana

देउडा संरक्षणका लागि संस्कृति मञ्च गठन

Ajai

हुम्ला । देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च गठन गरिएको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च नै गठन गरी यो कार्यक्रम शुभारम्भ गरेका हुन् । 

गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुनेगरेको छ । प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीयहरु भेला हुनेगरेका छन् । पश्चिमेली संस्कृतिको दबाबमा हुम्लाको संस्कृति लोप हुने डर देखिदा आफ्नो संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाकाहरु एकजुट भएको बताएका छन् ।

देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीतहरु गाइने गरिन्थ्यो । यो पहिले केटाकेटीले बिबाह गर्ने माध्यम पनि थियो । केटाकेटी मिलेर रातभर देउडा गाउने सामान्यजस्तै थियो, उति बेला । तर अहिले गाउने चलन हटिसकेको बुढापाकाको भनाइ छ । 

सुदूरपश्चिम र कर्णालीका युवा जनशक्तिहरू आफ्नो संस्कृति छाडेर वाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदैगएकाले आफुहरुले युवाहरुको आकर्षण बढाउन प्रतियोगिता नै गर्ने निर्णय गरेको देउडा संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकायाले बताए । अहिलेसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य भएका छन् ।

गाउँका महिला पुरुष परम्परागत पहिरनमा सजिएर देउडा गाउने गर्दैआएका छन् । गत असोज १५ गते अछाम जिल्लाका देउडा गायिका पानसरा थापालाई समेत अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.