
धनगढी। यस बर्ष दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
दशैंमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टिका थापिन्छ। यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ।
