धनगढी । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो बुधबारसम्म वर्षा जारी रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले देशभर जारी हल्का वर्षा निरन्तर जारी रहने भन्दै दुई दिनपछि मौसममा क्रमिक सुधार हुने जानकारी दिए ।
उनले भने, “नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । कोशी, मधेश र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।” उनले बुधबारपछि भने निरन्तर जारी वर्षा रोकिँदै फेरि पर्न सक्ने सम्भावना रहेको बताए ।
मौसम पूर्वानुमान महाशाखाको यस्तो भनाईपछि धनगढी उपमहानगरपालिकाले तीन दिन धान नकाट्न नगरवासीलाई मइकिंग गर्दै आग्रह गरेको छ। आज (सोमबार) देखि बुधबार (असोज १७ गते) सम्म धान नकाट्न नगरवासीलाई उपमहानगरपालिकाले आग्रह गर्दै १७ गते बुधवारसम्म पानी पर्नसक्ने सम्भावना देखिएकाले नगरभित्रका कृषकहरुलाई सचेत तथा सजग रहन समेत आग्रह गरिएको छ।
साथै काटेको धानवाली भित्र्याउन र खेतमै रहेको धानबाली तत्काल नकाट्न नगरवासीलाई अनुरोध गरिएको छ। स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले पाकेको धानबाली जोगाउन तत्काल नकाट्न आग्रह गरेको हो।