Dashain Suvakamana

‘युवा जनशक्तिलाई दक्ष र सीपयुक्त बनाइने’ मन्त्री साउँद

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले युवा जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन प्रदेश सरकार हरदम लागिपरेको बताएका छन् । बेराजगार युवालाई सीपमुलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिका फूलबारीमा भोकेसनल स्कुल स्थापना गर्न सम्झौता हस्तान्तरण कार्यक्रममा मन्त्री साउँदले सो कुरा बताएका हुन् ।

 विश्व बजारमा बिक्न सक्ने, स्वरोजगार हुन सक्ने र रोजगारी सिर्जना गर्ने कार्यमा प्रदेश सरकार सरोकारवाला सबैसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले भने- ‘यहाँ भोकेसनल स्कुलको भूमिका महत्वपूर्ण हुने भएकाले प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर काम गर्न तयार छ।’

शिक्षा क्षेत्रमा प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य पनि गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले के गर्नुपर्छ ? भवन, खेलमैदान, घेरबार र आइसिटीका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार छ। शिक्षा र स्वास्थ्यको विकास गर्न सामाजिक विकास मन्त्रालय सदैव स्थानीय तहको साथमा रहनेछ।’

शुक्रबार प्रदेशका ८८ पालिकाकै युवाले सीपमूलक तालिम लिन पाउने गरी धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन बीच धनगढीको फूलबारीमा स्कुल स्थापना गर्न सम्झौता भएको छ। कार्यक्रममा नगर प्रमुख गोपाल हमालले प्रदेशका सबै पालिकाका युवाहरूलाई निःशुल्क सीपमूलक तालिक प्रदान गर्ने उद्देश्यले स्कुल स्थापना गरिन लागेको बताए। ‘धनगढीको प्राविधिक स्कुलमा सुदूरपश्चिमका ८८ वटै पालिकाका युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य छ,’ उनले भने, ‘स्कुलमा निःशुल्क तालिकसँगै खाने बस्ने सुविधा पनि निःशुल्क हुनेछ भने युवाहरूलाई स्वरोजगार हुन सहज हुनेछ।’

धनगढी उपमहानगरपालिका–१८ मा रहेको फूलबारी बहुमुखी क्याम्पसमा नेपाल युथ फाउन्डेसनको ओल्गापुरी भोकेसनल स्कुलले प्लम्बिङ र हाउस वायरिङको तालिम दिन सुरु गरिसकेको छ। प्लम्बिङमा २५ र हाउस वायरिङमा २८ जनाले तालिम लिइरहेका छन्। केही दिन भित्रै वेल्डिङ र सिकर्मीको तालिम पनि सुरू गर्ने तयारी छ। निःशुल्क सीपमूलक तालिम लिने अवसर पाएपछि तालिमा सहभागी भएका युवाहरु पनि उत्साहित भएका छन्। तालिमपछि स्वरोजगार हुन सजिलो हुने धनगढी–८ का हेमराज चौधरीले बताए। 

यसअघि सुदूरपश्चिमबाट ललितपुर पुगेर युवाहरूले तालिम लिने गरेका स्मरण गर्दै नेपाल युथ फाउन्डेसनका सञ्चालक निर्देशक रिसभराज गोर्खालीले धनगढीलाई केन्द्र बनाएर उपमहानगरपालिकासँग साझेदारी गरी टेक्निकल स्कुल चलाउने तय भएको बताए। स्कूलले सुरुमा चार विधामा तालिम प्रदान गर्ने, त्यसपछि मागअनुसार विधा बढाइने र दोस्रो तहको तालिमसमेत दिने निर्देशक गोर्खालीले बताए।

फूलबारीमा भोकेसनल स्कुल खोल्न नेपाल युथ फाउन्डेसनलाई ५३ रोपनी जग्गा उपलब्ध गराएको छ। सो स्थानमा स्कुल सञ्चालन गर्न भवन निर्माणमा कम्तिमा डेढ/दुई वर्ष समय लाग्ने भएपछि उपमहानगरपालिकाले फूलबारी बहुमुखी क्याम्पसमा यो वर्षबाटै तालिम चलाएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.