धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउँदले अभिभावकविहीन बालबालिकासँग आफ्नाे जन्मदिन मनाएका छन् । जन्मदिनमा साथी भाइहरुसँग ठूलो रकम खर्च गरेर केक काट्ने प्रचलन त्याग्दै उनले त्याे पैसाकाे अभिभावकविहीन बालबालिकालाई खाद्यान्न सहयाेग गरेर उनीहरुसँगै जन्म दिन मनाएका हुन् ।
धनगढीमा हसनपुरमा रहेको परिवार बालगृहमा पुगेर मन्त्री साउदले आफ्नो जन्मदिन मनाएका हुन् । ‘ठूलो रकम खर्च गरेर जन्मदिन मनाउनु भन्दा यस्ता ठाउँहरूमा भएका समस्या सम्बोधन गर्न तर्फ हाम्रो ध्यान पुग्नु पर्छ’, सामाजिक विकास मन्त्री साउदले भने, ‘अभिभावक विहीन बालबालिकाहरूका लागि हामी छौँ भन्ने सन्देश दिन र उहाँहरूलाई हौसला दिन यहाँ आएको हुँ ।’
परिवार बालगृहमा अहिले १० महिना देखी १९ बर्ष सम्मका ९ जना बालबालिका छन् । उनीहरूलाई मन्त्री साउदले हौसला प्रदान गरेका थिए । जन्मदिन मनाउन प्रदेश सरकारको मन्त्री नै बालगृहमा पुगेपछि बालगृह सञ्चालक सानु चौधरी उत्साहित भएकी थिइन् । उनले प्रदेश सरकारले अभिभावक विहीन बालबालिकाहरूका बिषयमा प्रदेश सरकार गम्भीर बन्नु पर्नेमा जोड दिएकी थिइन् ।