धनगढी । सुदूरपश्चिममा रहेका अपाङ्गता भएका नागरीकहरुले मुख्यमन्त्रीलाई थुनेर आमरण अनसन बस्ने भएका छन् । नीति कार्यक्रममा आफुहरुलाई अपमानित गर्ने शब्द राखेर खिल्ली उडाएकाे र अहिले सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गता समावेशी नभएकाे भन्दै अपाङ्गता क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु आन्दाेलित भएका हुन ।
बुधबार उनीहरुले धनगढीस्थित प्रदेशसभा अगाडी पत्रकार सम्मेलन गरेर तीन दिनभित्र आफ्ना माग सम्बाेधन नभए मुख्यमन्त्रीकाे कार्यालयमा तालाबन्दी गरेर आमरण अनसन बस्ने बताएका छन् । पत्रकार सम्मेलनमा ३ दिन भित्र मागहरु सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने संघर्ष समितिका संयोजक भिम बहादुर शाहले बताए । उनले भने- ‘अपाङ्गता भएकाहरुलाई आन्दोलन गर्न बाध्य नबनाईयोस सरकार ! यदि, हामिलाई आन्दोलन गर्न बाध्य वनाईयो भने हामी संग जे छ त्यसरी नै आन्दोलनमा उत्रने छाैं।’
यस भन्दाअघि एउटै मन्त्रालयमा कम्तिमा ३ पटक अपाङ्गगताका सवाल बारे जानकारी गराएकाे भन्दै राष्ट्रिय अपाङ महासंघ सुदूरपश्चिमका अध्यक्ष मानवहादुर साउदले अझै अपाङ्गताका सवालमा नत राज्य नै संवेदनशील भयो नत यहाँका कर्मचारी नै । अहिलेसम्म प्रदेश सरकारले अपाङ्गता प्रादेशिक नीति समेत पास गर्न नसकेको उनले बताए । यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले उपेक्षित गरिरहेकोले आन्दाेलन गर्न बाध्य बनाएकाे उनकाे भनाई थियाे ।
सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिलाई समेटेर उनीहरुले २१ सदसीय संघर्ष समिति गठन गरेका छन् ।