शुक्लाफाँटामा डढेलो, निकुञ्जसँगै आसपासका बस्ति र बजार प्रभावित

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ। करिब एक सातादेखि फैलिएकाे डडेलाे निकुञ्जका आधा दर्जन क्षेत्रमा लागेको छ। डढेलोको कारण ७/८ हेक्टर वन क्षेत्र र आसपासका बस्ति तथा बजार प्रभावित भएको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जका मालुमेला, मंगलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए। ‘बस्ती नजिकबाटै डढेलो सुरु भएको हो, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ’, उनले भने, ‘केही दिनदेखि गर्मी निकै बढेको छ, यसले समेत डढेलो अझै बढ्न सक्ने देखिन्छ।’

डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमित रुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उनले बताए। निकुञ्जले पहिलो चरणमा काठे पुल, मचान लगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ। डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ।

बस्तीसँगै जोडिएको क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको छ। तुवाँलोले वायु प्रदूषण बढ्ने गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.