शैक्षिकसत्र सुरू नहुँदै पहिलाे पटक सुदूर पहाडमा पुगे पाठ्यपुस्तक

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् । शैक्षिकसत्र सकिदासम्म पनि पाठ्यपुस्तक नपुग्ने यहाँ पहिलाे पटक यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका हुन् ।

कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख ध्रुव्र पन्तले बताए । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आपूर्ति गर्ने जिम्मा प्राइभेट कम्पनीले लिएको छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।

जनक शिक्षा सामग्री केन्द्रले यस बर्ष २०७९ साल चैत्र २६ गते देखि ६–१० कक्षाको पाठ्यपुस्तक दार्चुला र बाजुरा जिल्लाबाट वितरण कार्य सुरु गरिसकेको छ । सुदूरका पहाडि जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा,बैतडी जिल्लामा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक वितरण गरिसकेको छ भने अन्य बाँकी रहेका डोटी, डडेलधुरा, कैलाली कञ्चनपुरमा पनि बैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक वितरण गरिसक्ने कार्यालय प्रमुख पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशमा कक्षा ६–१० का लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकाले सबै जिल्लालाई पुग्ने किसिमको,सबै विषय वस्तुसहितको पाठ्यपुस्तक व्यवस्थापनमा रहेको पन्तले बताए । उनले भने, ‘गत वर्ष विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा साह्रै हैरानी खेप्नु परेको थियो सोही समस्यालाई बुझेर हामीले यस वर्ष सुदूरका दुर्गम जिल्लाका विकट बस्तीमा समयमै पाठ्यपुस्तक पुर्‍याउन पहल गरेका हौं ।’

बाजुराको कोल्टी,दार्चुलाको लिपुलेकमा समेत शैक्षिकसत्र सुरु हुनु अगाबै पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीले जनाएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको ६ महिना, ८ महिना बितिसक्दा पनि पाठ्यपुस्तक आइपुग्दैन थियो तर यस वर्ष शैक्षिकसत्र सुरू हुनु अगावै पाठ्यपुस्तक आइपुग्दा विद्यार्थीको पठनपाठनमा सहजता हुने देखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.