धनगढी । सुदूरपश्चिममै पहिलाे पटक कैलालीकाे धनगढीमा अटिजम केयर सेन्टर सञ्चालनमा आएकाे छ । प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको सहकार्यमा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले धनगढी–१ शिवनगरमा अटिजम केयर सेन्टर सञ्चालनमा ल्याएको हो।
अटिजम भएका बालबालिकालाई पठनपाठन र सिकाइको सुविधा उपलब्ध गराउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा आइतबारदेखि धनगढीमा अटिजम केयर सेन्टर सञ्चालनमा आएको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल संस्थाका अध्यक्ष रमेशकुमार बस्नेतले जानकारी दिए।
सुदूरपश्चिममा ३५२ जनामा अटिजमको समस्या भएको तथ्याङ्क प्रस्तुत गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डाक्टर यज्ञराज पाण्डेले अपाङ्गताका दशवटा प्रकारमध्ये अटिजम न्युरो डिसअर्डरका कारण देखा पर्ने समस्या रहेको बताए। अटिजम भएका बालबालिकाको स्वभाव अन्यको भन्दा फरक हुने, सामाजिक अन्तरक्रिया गर्न नसक्ने र बालवालिकामा सञ्चार सिपको विकास नहुने उनकाे भनाई थियाे।
अटिजम भनेकाे के हाे ?
अटिजम एक विकासात्मक कठिनाइ हो। यो एक प्रकारको स्नायु सम्बन्धि समस्या हो। अटिजम भएकाले अरुसँग अन्तरक्रिया गर्न चाहन्नन् भने एकै किसिमको गतिविधि बारम्बार दोह¥याउने गर्छन् । सामाजिक सिप, समाजिक अन्तरक्रिया र सामाजिक सञ्चारमा अटिजम भएकाहरूमा समस्या भोग्ने गर्छन्।
अटिजम भएको कसरी चिन्ने ?
अटिजम एक विकासात्मक समस्या भएकाले बालबालिका ३ वर्षको हुँदा अटिजम भएको स्पष्ट रुपमा थाहा हुन्छ। अटिजम भएको थाहा भएअपछी थेरापी दिएर व्यवहार सेटिङ गर्न सकिन्छ। बालबालिकामा अटिजमक पहिलो संकेत भने ११ महिनामा देखिने डाक्टर पाण्डेले बताए। अटिजम भएकाहरूको असान्दर्भिक हसाइ र रुवाइ हुने, बच्चाले आँखामा आँखा जुधाएर कुरा नगर्ने, कुनै एक समान या खेलौना घुमाउने र त्योसँग अनौठो लगाव हुने, बिनाकारण कुनै कुराप्रति आकर्षित हुने, अरुले छोयो भने रिसाउने, बोलाउँदा नबोल्ने, नसुने जस्तो गर्ने, खतरा र डरको महसुस नगर्ने र आवश्यकताको सामान अरुको हात समाएर इङ्गित गर्ने गर्छन्।
अटिजम भएका बालबालिकाले कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न नसक्ने, समयको अवधारणा थाहा नहुने भएपनि विषेश किसिमको सिकाइका माध्यमबाट व्यवहारको विकास गर्न सकिने पाण्डेले बताए।