
दोधारा चाँदनी। भारत उत्तराखण्डमा पूर्णागिरि मेला सुरु भएपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा भारतीय दशनार्थाीको घुइँचो लागेको छ। पूर्णागिरि माताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्षा पूरा हुने जन विश्वास रहेका कारण पूर्णगिरि मेला सुरु भएपछि यहाँको सिद्धबाबा मन्दिरमा पनि भारतीय भक्तजनको चहलपहल सुरु भएको छ।
सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महताले भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको बताए। अध्यक्ष महताले भने, “पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास रहेका कारण यहाँ भारतीय भक्तजन आउने गर्छन्।” उनका अनुसार नेपालबाट पनि कञ्चनपुरसँगै कैलालीलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन्।
पूर्णागिरि मेला अवधिमा कञ्चनपुरको सीमावर्ती सहर ब्रम्हदेव र महेन्द्रनगर बजारमा ठूलो भीड लाग्ने गरेको छ। हरेक वर्ष फागु पूर्णिमादेखि लाग्ने पूर्णागिरि मेलाको यस बर्ष औपचारिकरूपमा शुभारम्भ भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले गरे। “यो मेलाले यहाँको धार्मिक पर्यटनको विकासमा सहयोग पुगेको छ”, नगरप्रमुख बोगटीले भने, “मेलाले दुई देशका नागरिकको सम्बन्ध दर्शाएको छ।” उनले कञ्चनपुरमा थुप्रै धार्मिक पर्यटनका सम्भावना रहेकाले यसको विकास र प्रचारप्रसारमा नगरपालिका लागेको बताए।
सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महताले दर्शनार्थीको भेटीबाट करिब रु ५० लाख आम्दानी हुने गरेको बताए। “हरेक वर्ष करिब ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको रकम यहाँका विद्यालय र सामाजिक कार्यमा खर्च गर्छौं”, उनले भने, “यहाँ रहेका दुई विद्यालयका निजी स्रोतमा भर्ना गरिएका शिक्षकको तलब मन्दिरकै भेटीबाट दिने गरिएको छ।” उनले मेलाका कारण यहाँको व्यवसाय फस्टाएको बताए।
