काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रस्तावक तथा समर्थकमा एमालेकै नेताहरु रहेका छन् । पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । यसरी हेर्दा नेम्बाङकाे भन्दा पाैडेलकाे पल्ला भारी देखिन्छ ।
राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । दुबैले संविधान निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।