दार्चुला । दार्चुलामा बिहीबारदेखि हिमपात भएको छ। बिहीबार बिहानैबाट मौसममा बदली भएर हिमपात सुरु भएको अपिहिमाल गाउँपालिकाका स्थानीय पार्वती बोहराले बताए।
उच्च लेकाली भागमा हिमपात र मौसम बदली हुँदा जिल्लाभर चिसो बढेको छ। पहाडी क्षेत्रमा भने हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। खेतमा लगाएको हिउँदे अन्नबाली पानीको अभावमा सुक्न थालेको लेकम गाउँपालिका–५ का स्थानीय शम्भुराज जोशीले बताए।
सिंचाइको सुविधा नपुगेको ठाउँमा लगाएका गहुँ, जौँ लगायत हिउँदे बाली सुकेर पहेलपुर भएका छन्। केही दिनयता घाम पनि नलागेपछि चिसोले जिल्लाभरीको जनजीवन प्रभावित भएको छ।