धनगढी । निबर्तमान भएका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रयाेग गर्दै आएकाे सरकारी निवास छाेडेका छन् । आफ्नाे कार्यकाल सकेर नयाँ मुख्यमन्त्री पदबहाली गरेकै दिन बिहीवार भट्टले सरकारी निवास खालि गरेका हुन् ।
भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले निवासकाे चाबी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रशासन तथा बैठक शाखा अधिकृत स्टाेर किपर मिनवहादुर पनाडीलाई बुझाएका छन्। निबर्तमान भएका मुख्यमन्त्री त्रिलाेचन भट्ट ‘जस्ताे आएका थिए, त्यस्तै निवास छाेडेर गए’काे भट्टका स्वकीय सचिव कुँवरले बताए । कुनै सर-समान हिनामिना नगरेकाे उनकाे भनाई थियाे ।
उनका अनुसार निबर्तमान मुख्यमन्त्री भट्ट धनगढी -४ उत्तरबेहडीस्थित घर भाडामा लिएर बसेका छन् । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज नै सरकारी निवास सर्ने जानकारी आएकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रशासन तथा बैठक शाखा अधिकृत पनाडीले बताए ।



