धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भूकम्प पिडीतहरुलाई तत्काल रहात दिईने बताएका छन् । मंगलबार राति र बुधबार बिहान गरी पटक पटक गरी आएकाे भूकम्पमा परेकाहरुकाे उद्धार तथा उपचारमा खटिन बिभिन्न निकायलाई निर्देशन दिएका मुख्यमन्त्री भट्टले क्षतिकाे बिवरण बटुल्दै प्रदेश सरकारले पिडीतहरुलाई तत्काल केही रहात दिने भएकाे बताए हुन् ।
मुख्यमन्त्रीकाे स्वकीय सचिवालयका अनुसार मृतक प्रति ब्यक्तिलाई एकलाख २० हजार, घर पूर्ण क्षति भएकाे परिवालाई ५० हजार र मर्मत गरी बस्नलायक हुनेलाई पुनर्निमाण गर्न २५ हजार दिईने छ । यसका अलावा घाइतेकाे उपचार र दीर्घकालिनरुपमा पुनर्बास गर्नुपरे पनि गरिने मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात )ले बताए ।
बुधबार बिहान २ः१२ बजे राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। भूकम्पले गैरागाउँका आठ घरमा पूर्ण रूपमा क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए। घाइतेमध्ये २ जनालाई धनगढी अस्पतालमा पुराइएकाे छ।