धनगढी। निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताएकी छन। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज (शनिबार) धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले यस्तो बताएकी हुन्।
उनले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको जानकारी दिदै सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्त्व दिइएको बताइन । “निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् । पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन्”, उनले भनिन्, “आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ ।”
आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको जानकारी दिदै निर्वाचनका चरणमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन पत्रकारसमक्ष आग्रह गरिन ।