कैलालीका हजारबढी बाढीपीडित अझै घर फर्किन सकेका छैनन्

धनगढी । गत साता कैलालीकाे कान्द्रा, काडा, मोहना, पथरिया र कर्णाली नदीको बाढी बस्ती पस्दा विस्थापित भएका हजारभन्दा बढी परिवार अझै घर फर्किन पाएनन् । बस्ती नै डुबानमा परेपछि उनीहरु अग्लाे सडक तथा विधालयमा त्रिपालमुनि बस्न विवश भएका हुन् ।

भजनी नगरपालिका–८ कृष्णपुरका लालबहादुर चौधरीको परिवार एक सातायता हुलाकी सडकमा त्रिपालमुनि बसिरहेको छ । ‘वर्षा रोकिएर डुबान घट्ने भयो, अब घर फर्किन पाइन्छ होला भनेको फेरि पानी पर्‍यो । घर अझै हिलाम्मे छ । बस्ने अवस्था नभएकाले अहिलेसम्म पनि सडकमै छौं,’ उनले भने, ‘अझै पानी थपिएर फेरि बाढी आउने हो कि ? यस्तोमा कसरी घर फर्किनु ?’

उनका अनुसार घरमा भएको सबै अन्न र लत्ताकपडा पनि भिजेको छ । अहिलेसम्म विभिन्न सहयोगी सस्था र स्थानीय तहले उपलब्ध गराएको खाद्यान्नकै भरमा छन् । भजनी नगर प्रमुख केवल चौधरीका अनुसार गत साताको बाढी र डुबानका कारण वडा–१ देखि ९ सम्मका ८ हजार घरधुरी प्रभावित भए । जसमध्ये धेरैजसो परिवार आ–आफ्नो घर फर्किए पनि सयौं परिवारको बास अझै पनि हुलाकी सडक र सार्वजनिक स्थलमा छ ।

हिलोका कारण घर फर्किएका कति परिवारले चुल्हो बाल्न नपाएको बताएको उनले सुनाए । ‘घर फर्किन नसकेका परिवार हुलाकी सडक र विद्यालय भवनमा बसिरहेका छन्,’ उनले भने, ‘घर फर्केका परिवारहरूलाई पनि केही दिनका लागि पुग्ने खाद्यान्न र एकसरो कपडा राहतस्वरूप वितरण गरिरहेका छौं ।’

कैलारी गाउँपालिकामा ५५ परिवार पडेगा सामुदायिक वनमा पाल टाँगेर बसेका छन् । गत साताको वर्षापछिको बाढी र डुबानका कारण कैलालीको दक्षिणी पूर्वी भेगका ५ स्थानीय तह भजनी, कैलारी, टीकापुर, जानकी र जोशीपुरमा धेरै क्षति पुगेको हो । कान्द्रा, काडा, मोहना, पथरिया र कर्णाली नदीको बाढी बस्ती पसेको हो ।

टीकापुरमा अझै ४ सय परिवार घर फर्कन पाएका छैनन् । भजनी र कैलारीका गरी ४ सय ९७ परिवार अझै विद्यालय, सामुदायिक भवन, हुलाकी सडक र अग्लो स्थानमा पालमुनि बसिरहेको कैलाली प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.