धनगढी ।अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ । विहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानूनमन्त्री डा. राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् ।
पहिरोमा ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ति स्वरुप एक लाख र किरिया खर्च २० हजार गरी एक लाख बीस हजार र एकै घरपरिवारका एक भन्दा बढी व्यक्तिको पहिरोमा परेर मृत्यु भएका परिवारलाई दुई लाख क्षतिपूर्ति र किरिया खर्च ४० हजार गरी दुई लाख ४० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको प्रदेश सरकारकार प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रावलले बताए । उनले भने,‘अछाममा अहिले प्रारम्भिक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर गएको र पहिरो पीडितका लागि थप राहतको प्याकेज ल्याइने छ ।’
अछाममा पहिरोले धेरै क्षति पुगाएको बताउँदै मुख्यमन्त्री त्रिलाेचन भट्टले विपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउँदै पीडामा मल्हम लगाउन सबैले हातेमाले गर्नुपर्ने बताए । राहत वितरण गर्न अछाम पुगेका मुख्यमन्त्री भट्टले यसलाई चाँडै पुनर्स्थापनाका लागि लाग्ने बताए । ‘अहिले बाटाघाटा सबै बन्द भएका छन्, भएको राहत सामग्री पनि प्रभावित क्षेत्र पुगाउन सकेका छैनौ,’ मुख्यमन्त्री भट्टले भने,‘चाँडै सडक सञ्जाल मर्मत गरेर सामग्री पठाउने छौँ ।’
सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरिया पुत्रीलाई हस्तान्तरण गरेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीले जानकारी दिए । गत भदौ ३१ गते राति परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । वर्षात् काकारण सबैभन्दा बढी अछाममा क्षति पुगेको थियो । पहिरोले अछाममा २३ जनाको मृत्यु हुनुका साथै १ जना बेपत्ता भएका छन् ।